नेपालगन्ज। श्रम तथा रोजगार कार्यालय नेपालगन्जले बाँके र दाङका १९ वटा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज गरेको छ। तोकिएको समयभित्र नवीकरण नगरेका युनियनहरूको दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख पिन्टुकुमार रजकका अनुसार ट्रेड युनियन ऐन, २०४९ को दफा १७ तथा ट्रेड युनियन नियमावली, २०५० को नियम ९ बमोजिम म्याद र थप दस्तुरसहित नवीकरणका लागि नआएका युनियनको दर्ता खारेज गरिएको हो।
खारेजीमा परेका युनियनहरूमा बाँकेका शक्ति पोलिप्लेट प्रालि, लक्ष्मी प्लास्टिक प्रालि, बिन्द्रावासिनी सेक्युरिटी प्रालि, राजलक्ष्मी ग्यास इन्डस्ट्रिज प्रालि, मनकामना ग्यास उद्योग, मनकामना फुटवेयर इन्डस्ट्रिज प्रालि, ज्ञान फुड प्रोडक्ट्स प्रालि, नेपाल रिपब्लिक मिडिया प्रालि, हलवल ग्रुप फाइभ सेक्युरिटी प्रालि, केटिपी ग्रुप प्रालि, विदुषी विजी एन्ड सामाजिक प्रालि, ह्याप्पी हावर प्रालि, होटल डायमण्ड प्यालेस प्रालि, भेरी ग्यास उद्योग प्रालि र कर्णाली डिस्टिलरी प्रालि रहेका छन्। त्यस्तै, दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय, घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालि र तुलसीपुर यातायात प्रालिका ट्रेड युनियनको दर्तासमेत खारेज भएको छ।
कार्यालयले श्रमिकका समस्या समाधान र श्रम कानुन कार्यान्वयनमा तीव्रता दिएको जनाएको छ। गत आर्थिक वर्षमा श्रमिकका हक र श्रम विवादसम्बन्धी ४० उजुरीमध्ये ३० वटा फर्छ्योट गरिएको कार्यालयले उल्लेख गरेको छ।
बाँकी उजुरीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ। साथै, अघिल्लो वर्षबाट सरेका मुद्दासमेत गरी हाल कार्यालयमा २१ वटा मुद्दा दर्ता रहेकोमा आधाजसो फर्छ्योट भइसकेका छन्।
कार्यालयले श्रमिकको अधिकार संरक्षण र श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि गत आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्रभित्रका ३०० भन्दा बढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको छ।
क्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयन, बालश्रमको अवस्था र श्रम कानुनको पालनाबारे निरीक्षण गरिएको प्रमुख रजकले जानकारी दिए।
