काठमाडौं: नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि चौथो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ। तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ सुरु भएको यस मेलाको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नर्सरी क्षेत्रले उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान पुर्याइरहेको बताइन्। साथै, यस क्षेत्रले गुणस्तरीय बिरुवा उपलब्ध गराएर युवा तथा महिलाहरूका लागि रोजगारी र आयआर्जनको अवसर सिर्जना गरेको उनले उल्लेख गरिन्। मन्त्री चौधरीले बीउ-बिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन केन्द्रमार्फत गुणस्तर नियमनको काम भइरहेको जानकारी दिइन्। उनले भूमि प्राप्तिसम्बन्धी समस्या समाधानका लागि कानुनमार्फत भूमि बैंकको अवधारणा ल्याउने तयारी भइरहेको पनि बताइन्।
आयोजकका अनुसार एक्स्पोमा ६३ वटा व्यावसायिक, ६ वटा अफिसियल र ४ वटा प्रतिस्पर्धात्मक गरी कुल ७३ वटा स्टलहरू रहेका छन्। मेलामा तिहारमा प्रयोग हुने फूलका साथै विभिन्न बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्री, प्रविधि, औजार र मलखादहरू एउटै छानामुनि उपलब्ध गराइएको छ।
