काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
विश्वविद्यालयले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ल्याएको यो बजेट चालु आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।
प्रस्तावित बजेटमध्ये ४९.३७ प्रतिशत अर्थात १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने लक्ष्य विश्वविद्यालयको छ। बाँकी ५०.६२ प्रतिशत अर्थात १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ।
विश्वविद्यालयले सञ्चालन खर्चतर्फ ६६.१४ प्रतिशत र पुँजीगत खर्चतर्फ १३.५६ प्रतिशत बजेट विनियोजन गर्ने प्रक्षेपण गरेको छ। शिक्षक तथा कर्मचारीको तलब वृद्धि र भत्तामा भएको शतप्रतिशत वृद्धिका कारण विश्वविद्यालयको चालु दायित्व बढ्ने देखिएको छ।
यद्यपि, सरकारबाट प्राप्त हुने अनुदान गत वर्षको तुलनामा ४ करोड ५० लाख रुपैयाँले घटेको छ। आगामी वर्षका लागि सरकारबाट ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्र अनुदान प्राप्त हुने अनुमान छ। तलब र भत्ताको दायित्वका कारण विश्वविद्यालयलाई ६ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने प्रक्षेपण गरिएको छ।
आर्थिक स्रोतको अभावमा नियमित सञ्चालन खर्च धान्न कठिन हुने भन्दै विश्वविद्यालयले सरकारसँग समयमै आवश्यक रकम सुनिश्चित गर्न आग्रह गरेको छ।
