काठमाडौँ- प्रहरीले रु तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने बिक्कीकुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
परिसरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनलाई माइतीघरबाट पक्राउ गरेको हो । उनले ‘वान एक्स’ एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी (जुवा) गर्ने तथा युएसडिटीलगायत अभौतिक मुद्राको कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
महतोले हालसम्म रु तीन करोड ३८ लाख आठ हजार ३५० बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो ।
प्रहरीले महतोको साथबाट एउटा मोबाइल फोन बरामद गरेको छ । आरोपी महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
