काठमाडौं। जापानले नेपाललाई करिब ३ अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक सुधार परियोजनाका लागि जापानले २ अर्ब ८५ करोड ३० लाख येन अर्थात २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको हो।
यस सम्बन्धमा दुई देशबीच बिहीबार अर्थ मन्त्रालयमा सम्झौता भएको छ। अनुदान सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले तथा अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गरेका छन्।
आयोजनाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर तथा प्रशासनिक एवं सुविधा भवन निर्माण गरी हवाई ट्राफिक नियन्त्रण सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने मन्त्रालयको विश्वास छ। आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ।
