काठमाडौं। नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यसबाहेक सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ।
प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघ्ने बैंकले जनाएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा सात अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्व १३.०६ प्रतिशतले बढेर छ खर्ब दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी १२.१५ प्रतिशतले वृद्धि भई चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
बैंकको वासलातको आकार १५.३८ प्रतिशतले बढेर सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। सभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकिङ सेवालाई आधुनिकीकरण गरिरहेको बताए।
बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ। नबिल बैंकले सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि तयार हुने लक्ष्य राखेको छ।
