काठमाडौं। बेमौसमी वर्षाका कारण खेतमा सुकाउन राखिएको धान भिजेपछि सर्लाहीका किसान चिन्तित बनेका छन्।
शुक्रबार रातिदेखि मेघगर्जनसहित भइरहेको निरन्तरको वर्षाले किसानले काटिसकेको धानको पाँजा भिजाएको हो। यसअघि बिहीबार पनि वर्षा हुँदा किसानको धानबालीमा क्षति पुगेको थियो।
हरिवन नगरपालिका-५, घुर्कौलीका किसान टेकबहादुर पाख्रिनले खेतमा काटेर राखेको धान वर्षाले भिजाउँदा समस्या भएको बताउनुभयो। उहाँले मौसम खराब रहेका कारण पाकिसकेको अन्य धानबालीसमेत काट्न नपाएको जानकारी दिनुभयो।
जल तथा मौसम विज्ञान विभागका अनुसार सर्लाहीको नवलपुर केन्द्रमा ६१.२ मिलिमिटर र मनुषमारा केन्द्रमा ५३.४ मिलिमिटर वर्षा मापन भएको छ। मौसममा आएको प्रतिकूलताका कारण कृषि ज्ञान केन्द्र सर्लाहीले किसानलाई तत्काल धान नकाट्न आग्रह गरेको छ। बाली विकास अधिकृत कविन्द्रसिंह ठगुन्नाले भदैया धान काट्ने समय भए पनि मौसम सुधार नभएसम्म हतार नगर्न सुझाव दिनुभयो। यस वर्ष सर्लाहीमा ४१ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ।
यसैबीच, निरन्तरको वर्षाले खोलामा बाढी आएको छ। बाढीका कारण दसैँको समयमा चुरे क्षेत्रका स्थानीयलाई लालबन्दी बजारसम्म आवतजावत गर्न कठिनाइ भइरहेको छ।
