काठमाडौं। प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको सुधारसँगै शुक्रबार अमेरिकी सेयर बजार सकारात्मक अवस्थामा बन्द भएको छ। उच्च बन्ड प्रतिफल र बढ्दो ऊर्जा मूल्यका कारण साताभर उतारचढावपूर्ण रहेको बजार शुक्रबार भने उकालो लागेको हो।
डाउ जोन्स इन्डस्ट्रियल एभरेज ०.८३ प्रतिशतले बढेर ५१ हजार ६५४.९५ बिन्दुमा पुगेको छ। त्यस्तै, एसएन्डपी ५०० सूचक ०.५९ प्रतिशतले वृद्धि भई ७ हजार ८११.५४ बिन्दुमा र प्रविधि क्षेत्रको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचक ०.६४ प्रतिशतले बढेर २७ हजार ३६६.१७ बिन्दुमा बन्द भएको छ। एसएन्डपी ५०० अन्तर्गतका ११ मध्ये ९ क्षेत्रमा वृद्धि देखिएको छ। रियल इस्टेट क्षेत्र १.८८ प्रतिशत र उपभोक्ता ऐच्छिक वस्तु तथा सेवा क्षेत्र १.६९ प्रतिशतले बढेका छन्। यद्यपि, सञ्चार सेवा र ऊर्जा क्षेत्रमा सामान्य गिरावट आएको छ। माइक्रोसफ्ट, अमेजन र पालान्टिर टेक्नोलोजिजको बलियो प्रदर्शनले प्रविधि क्षेत्रलाई सहयोग पुर्याएको छ।
यसैबीच, स्पेसएक्सले रेडियो स्पेक्ट्रम खरिद गर्ने घोषणा गरेपछि दूरसञ्चार क्षेत्र प्रभावित भएको छ। यसले स्टारलिङ्क मोबाइललाई थप विस्तार गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ। यस घोषणापछि एटी एन्ड टी, टी-मोबाइल यूएस र भेरिजोन कम्युनिकेसन्सका सेयर मूल्य ८.७५ देखि १३.२७ प्रतिशतसम्म घटेका छन्। विशेषगरी भेरिजोनको सेयरमा सन् २००२ यताकै ठूलो गिरावट देखिएको छ।
अर्कोतर्फ, डेल्टा एयरलाइन्सको तेस्रो त्रैमासिक नतिजा कमजोर देखिएको छ। कम्पनीले विमान इन्धनको लागत बढेका कारण नाफा प्रभावित भएको जनाएको छ। अमेरिकी उपभोक्ताको विश्वासमा पनि कमजोरी देखिएको छ।
मिशिगन विश्वविद्यालयका अनुसार अक्टोबरमा उपभोक्ता भावना सूचक घटेर ४६.३ मा झरेको छ, जुन पाँच महिनायताकै न्यून हो। आगामी वर्षका लागि मुद्रास्फीति अपेक्षा ४.७ प्रतिशत पुगेको छ। उपभोक्ता सर्वेक्षण निर्देशक जोआन सुकाले उच्च मूल्य र ऋणको लागतका कारण टिकाउ वस्तु खरिद गर्ने अवस्था कमजोर बनेको बताएकी छन्। लगानीकर्ताहरू अब आगामी साता सार्वजनिक हुने वित्तीय विवरणतर्फ केन्द्रित भएका छन्।
