काठमाडौं: नेपाल राष्ट्र बैंकको पछिल्लो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान थियो। प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ११.२३ प्रतिशत, उद्योगको १२.२४ प्रतिशत र सेवा क्षेत्रको ७६.५३ प्रतिशत योगदान रहने प्रक्षेपण गरिएको छ।
प्रतिवेदनका अनुसार भदौ १० गतेको विनाशकारी बाढीले रसुवा, नुवाकोट, चितवन र धादिङ जिल्ला बढी प्रभावित भएका छन्। यसको असर कृषि, उद्योग र पूर्वाधार क्षेत्रमा देखिएको छ। बाढीका कारण भोटेकोशी-त्रिशूली-नारायणी नदी करिडोरको करिब १ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ। यसले बालीनाली, सिँचाइ पूर्वाधार र पशुपन्छीजन्य उत्पादनमा नकारात्मक असर पारेको छ। साथै, सुपर एल निनोको प्रभावले धान बालीको उत्पादकत्वमा समेत संकुचन आउने सम्भावना छ।
औद्योगिक क्षेत्रमा रसुवा-नुवाकोट क्षेत्रमा आएको बाढीले विद्युत् उत्पादन र आपूर्तिमा प्रतिकूल असर पारेको छ, जसले औद्योगिक उत्पादनलाई प्रभावित बनाउनेछ। यद्यपि, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणले तीव्रता पाएमा निर्माण क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ।
सेवा क्षेत्रमा पनि बाढीको असर देखिएको छ। चाडपर्व लक्षित व्यापार, यातायात सञ्जालको अवरोध र पर्यटन गतिविधिमा अल्पकालीन प्रतिकूलता देखिएको छ। राजमार्ग अवरोध र ट्राभल एड्भाइजरीमा गरिएको संशोधनका कारण बाह्य पर्यटकको संख्यामा समेत कमी आउने अनुमान छ। यद्यपि, जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानका लागि आउने पर्यटक र विगतका अनुभवका आधारमा पर्यटन क्षेत्रमा चाँडै सुधार हुने अपेक्षा गरिएको छ।
पूर्वाधारतर्फ मितेरी पुल, टिमुरे सुक्खा बन्दरगाह र रसुवागढी भन्सार यार्डलगायतका संरचनामा क्षति पुगेको छ। तर, प्रादेशिक सडक सञ्जाल, जलविद्युत् आयोजना, प्रसारण लाइन र सुरुङमार्ग निर्माणका कार्यले गति लिएकाले पूर्वाधार क्षेत्र विस्तार हुने प्रतिवेदनले देखाएको छ।
