चितवन। पोखराको प्राकृतिक सुन्दरता, चितवनको वन्यजन्तु तथा जङ्गल सफारी र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय तहहरूले सहकार्य गर्ने भएका छन्। पर्यटकहरूको बसाइ अवधि लम्ब्याउने लक्ष्यसहित ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको अवधारणामाथि छलफल सुरु गरिएको छ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा तीनवटै क्षेत्रका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरूले संयुक्त रूपमा पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। यस अवधारणाले पोखराको हिमाली दृश्य, चितवनको निकुञ्ज र लुम्बिनीको बौद्ध दर्शनलाई एउटै पर्यटकीय मार्गमा जोड्ने लक्ष्य राखेको छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले यसअघि नै अघि बढाइएको अवधारणालाई अब प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। उनले चितवन आउने पर्यटकलाई पोखरा र लुम्बिनी जान प्रोत्साहित गरिने र अन्य क्षेत्रबाट आउने पर्यटकलाई पनि चितवनसँग जोड्न सहकार्य गरिने जानकारी दिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल आउने पर्यटकलाई सीमित गन्तव्यमा मात्र नभई चितवन र लुम्बिनीको भ्रमण गराएर मात्र स्वदेश फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, “नेपाल आएका पर्यटक पोखराबाट काठमाडौँ हुँदै आफ्नो देश फर्कने अवस्था हुनुहुँदैन। चितवनको जंगल सफारी र लुम्बिनीको सांस्कृतिक महत्वबारे जानकारी लिएर मात्र फर्कने वातावरण बनाउनुपर्छ।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले तीनवटै पालिकाबीचको समन्वयले आर्थिक समृद्धिमा योगदान पुग्ने बताए। उनले धार्मिक, प्राकृतिक र वन्यजन्तु पर्यटनलाई एकै यात्रामा समेट्न सके पर्यटकले नेपालका विविध पक्षको अनुभव लिन सक्ने धारणा राखे ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले चितवनको पर्यटकीय सम्भावना र प्रवर्द्धनका उपायबारे कार्यपत्र प्रस्तुत गरेको थियो। सरोकारवालाहरूले संयुक्त पर्यटकीय प्याकेज, प्रचारप्रसार र प्रभावकारी यातायात व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
