काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोलाको सिरानमा गएको हिमपहिरो र विशाल पहिरोका कारण बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार असोज २५ गते बिहान ४ बजेर २० मिनेटमा करिब ६ हजार मिटरको उचाइमा चामर र स्येराङ्गी हिमालबीच हिमपहिरो गएको थियो।
हिमपहिरोसँगै पाँच हजार पाँच सय मिटर उचाइ आसपासबाट ठूलो परिमाणमा हिउँ, गेग्रान र चट्टानसहितको पहिरो खसेको थियो। उक्त क्षेत्रका कमजोर पत्रे चट्टानबाट सुरु भएको पहिरोले खोलाको दुवै किनारातर्फ करिब तीन सय मिटरसम्म असर गरेको पाइएको छ। प्राधिकरणका अनुसार यो पहिरोले करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको ऊर्जा उत्पन्न गरेको थियो।
अध्ययनमा बाढी आउनुभन्दा एक घण्टाअघि स्यार खोलाको बहाव अवरुद्ध भएर १.५ किलोमिटरसम्म पानी जम्मा भएको उल्लेख छ। बिहान ४ बजेर ३० मिनेटमा सल्लेरी पुगेको लेदोसहितको बाढीको मुख्य सतह ६ बजेर ३० मिनेटमा आएको थियो। सल्लेरीस्थित हाइड्रोपावर क्याम्पमा बाढीको सतह २० देखि २५ मिटरसम्म पुगेको थियो।
माटोको मात्रा बढी भएकाले यो बाढी ‘भिस्कस मड फ्लो’ अर्थात् बाक्लो लेदो बिस्तारै बग्ने प्रकृतिको रहेको थियो। बाढीले सल्लेरीको हाइड्रोपावर क्याम्प बगाउनुका साथै जगतका केही भवन र सोती खोला तथा बुढीगण्डकीका पक्की पुलमा क्षति पुर्याएको छ। यस घटनामा पाँच जना बेपत्ता भएका छन् भने तटीय क्षेत्रका सयौं भौतिक संरचनामा क्षति पुगेको छ।
