लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चाडपर्वको अवसरमा उपभोक्ता ठगी नियन्त्रण गर्न बजार अनुगमन र सार्वजनिक यातायातको निगरानी बढाउने निर्णय गरेको छ। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन परिषद्को बैठकले दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो।
मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार घरेलु तथा साना उद्योग कार्यालयमार्फत स्थानीय प्रशासन, प्रहरी, स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा नियमित अनुगमन गरिनेछ। अनुगमन टोलीले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति अवस्थाको निरीक्षण गर्नेछ।
यातायात क्षेत्रमा हुने ठगी रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले तोकिएभन्दा बढी भाडा असुल्ने र सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनमाथि निगरानी बढाउनेछ। यात्रुको चाप हुने स्थानमा सहायता कक्ष स्थापना गरिनेछ भने उपभोक्ताका गुनासा सुन्न क्यूआर कोड, टोल फ्री नम्बर र हटलाइनको व्यवस्था गर्न सबै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई अनुरोध गरिएको छ।
बैठकले बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन ऐन, २०७७ कार्यान्वयनका लागि नियमावली र आवश्यक कार्यविधि तर्जुमा गर्ने निर्णय पनि गरेको छ। उपभोक्तालाई सचेत गराउन सूचना सामग्री प्रकाशन गर्ने र स्वच्छ प्रतिस्पर्धाका लागि मातहतका निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
