काठमाडौं: चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६९ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म ८३ खर्ब ११ अर्ब रुपैयाँ रहेको कुल निक्षेप भदौ मसान्तसम्म आइपुग्दा ८३ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको निक्षेप ८ खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ, जुन ११ प्रतिशतभन्दा बढीको वृद्धि हो।
निक्षेपको तुलनामा कर्जा लगानी भने सुस्त देखिएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार गत वर्षको असोज मसान्तमा ५६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा एक वर्षको अवधिमा जम्मा ३ खर्ब ४७ अर्ब रुपैयाँले मात्र बढेर ६० खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कर्जा लगानीको वृद्धिदर ६.११ प्रतिशतमा सीमित छ।
यद्यपि, चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कर्जा लगानीमा केही सुधार देखिएको छ। यस अवधिमा निक्षेप ६९ अर्बले बढ्दा कर्जा लगानी पनि ६३ अर्ब रुपैयाँले बढेको छ। निजी क्षेत्रले भने बजारमा कर्जाको माग कम रहेको र बैंकमा पर्याप्त तरलता थुप्रिएको जनाएको छ। हाल ब्याजदर इतिहासकै न्यून विन्दुमा रहे पनि लगानीको वातावरण बनाउन उद्योगी व्यवसायीहरूको मनोबल बढाउन आवश्यक रहेको निजी क्षेत्रको भनाइ छ।
