काठमाडौं: आईएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्सपो २०२६ मा पाँचवटा नयाँ सेवा सार्वजनिक गरेको छ। फिनटेक एलायन्स नेपालद्वारा आयोजित तीनदिने उक्त एक्सपोमा कम्पनीले आफ्ना नयाँ सेवाहरू प्रस्तुत गरेको हो।
कम्पनीले एक्सपोको पहिलो दिन खल्ती कार्ड्स, ई-सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो भने तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको जनाएको छ। यी सेवाहरूमार्फत डिजिटल भुक्तानी, डिजिटल कनेक्टिभिटी, व्यक्तिगत वित्त व्यवस्थापन र लगानीसम्बन्धी सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ।
एक्सपो अवधिभर खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी विभिन्न सेवाबारे जानकारी लिएका थिए। प्रयोगकर्तालाई सेवाको अनुभव गराउन कम्पनीले क्यासब्याक, प्रोमो कोड र विभिन्न अफरहरू समेत उपलब्ध गराएको थियो। स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, बीमा, हवाई टिकट, मोबाइल टपअप, डेटा प्याक, टेलिभिजन तथा इन्टरनेट सेवामा अफरहरू प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ।
आईएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले एक्सपोले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गरी उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गरेको बताए। उनले भने, ‘कम्पनीले भुक्तानी सेवाभन्दा बाहिर व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानीलगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिरहेको छ।’ कम्पनीले डिजिटल भुक्तानीलाई केन्द्रमा राखेर बचत, लगानी, बीमा र दैनिक जीवनसँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने प्रयास गरिरहेको जनाएको छ।
