काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिको ६ महिनामा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले नीतिगत सुधार, सिँचाइ व्यवस्थापन, जलविद्युत आयोजना र मौसम पूर्वानुमानका क्षेत्रमा भएका प्रगतिहरूको सूची सार्वजनिक गरेको हो।
नीतिगत तहमा मन्त्रालयले नवीकरणीय ऊर्जा तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विधेयकहरू तर्जुमा गरी संसदमा पेश गरेको छ। अन्तरदेशीय विद्युत व्यापारका लागि चमेलिया-धौलीगंगा, मोतिहारी-निजगढ र बुटवल-गोरखपुर प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (DPR) स्वीकृत गरिएको छ। साथै, इनरुवा-न्यू पुर्निया र दोदोधरा-बरेली प्रसारण लाइन निर्माणका लागि भारतसँगको सहकार्य प्रक्रियालाई तीव्रता दिइएको छ।
सिँचाइतर्फ, पछिल्लो ६ महिनामा सिक्टा सिँचाइ आयोजनाबाट १३ सय हेक्टर र बबई सिँचाइ आयोजनाबाट ६ सय हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ। महाकाली र रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत पनि क्रमशः ११५५ र १५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले देशभरका सिँचाइ आयोजनाहरूबाट करिब २ लाख ३३ हजार हेक्टर जमिनमा निरन्तर सिँचाइ सेवा दिइरहेको छ।
विद्युत विकास विभागले यस अवधिमा १६२३ मेगावाट क्षमताका २३ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमतिपत्र र ४ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरेको छ। नेपाल विद्युत प्राधिकरणले हेटौंडा-ढल्केबर-इनरुवा ४०० के.भी. प्रसारण लाइनका रोकिएका टावर निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। साथै, काठमाडौं उपत्यकाको विद्युत प्रणाली सुदृढ गर्न नयाँ सब-स्टेशनहरूको निर्माण सुरु गरिएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ग्रामीण क्षेत्रमा लघु जलविद्युत र सौर्य प्रणालीमार्फत विद्युत पहुँच विस्तार गरेको छ भने स्वच्छ ऊर्जा प्रविधिअन्तर्गत १ लाख १९ हजार ५ सय वटा विद्युतीय चुलो तथा अन्य प्रविधिहरू वितरण गरेको छ। जल तथा ऊर्जा आयोग र मौसम विज्ञान विभागले बाढी पूर्वानुमान प्रणालीलाई आधुनिकीकरण गर्दै बाढीको पूर्वसूचना दिने समयावधि ५ दिनसम्म विस्तार गरेको छ।
