बाजुरा: जिल्लाका किसानले यस वर्ष स्याउ बिक्रीबाट एक करोड ६२ लाख २० हजार रुपियाँ आम्दानी गरेका छन्। भदौ १५ देखि असोज मसान्तसम्मको अवधिमा जिल्लाभित्र र बाहिर स्याउ बिक्रीबाट सो आम्दानी भएको हो।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा ४१० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ, जसमध्ये २०० हेक्टरमा उत्पादन भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष १२ लाख रुपियाँ बढी आम्दानी भएको छ। गत वर्ष किसानले एक करोड ५० लाख रुपियाँ आम्दानी गरेका थिए।
पालिकागत विवरण अनुसार स्वामिकार्तिक गाउँपालिकाका किसानले एक करोड, बुढीनन्दा नगरपालिकाका किसानले ५० लाख, जगनाथ गाउँपालिकाका किसानले १० लाख र हिमाली गाउँपालिकाका किसानले दुई लाख २० हजार रुपियाँ बराबरको स्याउ बिक्री गरेका छन्। हिमाली गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर शाहीका अनुसार खाद्य कार्यक्रमद्वारा चार वर्षअघि परीक्षणका लागि लगाइएको स्याउले यस वर्षबाट फल दिन थालेको हो।
उत्पादन राम्रो भए पनि किसानले ढुवानीमा भने सास्ती खेप्नु परेको छ। मार्तडी-कोल्टी सडक लामो समय अवरुद्ध हुँदा बुढीनन्दाका किसानले स्याउ समयमै बजार पुर्याउन समस्या भोग्नुपरेको थियो। बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख दिपक कार्कीले सडक अभावका कारण समयमै बजार पुग्न नसक्दा किसानले घाटा व्यहोर्नु परेको बताउनुभयो। सडक समयमै सुचारु भएको भए आम्दानी दुई करोड पुग्न सक्ने किसानको भनाइ छ।
यसका साथै जगनाथ गाउँपालिकामा बाँदरले बालीमा क्षति पुर्याउँदा किसानलाई घाटा भएको कृषि शाखा प्रमुख रिनेश कटेलले जानकारी दिनुभयो। यस वर्ष ढुवानी अनुदानको व्यवस्था हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर बिष्टले बताउनुभयो। प्रदेश सरकारबाट बजेट ढिला भएका कारण अनुदान वितरण गर्न नसकिएको उहाँको भनाइ छ।
