काठमाडौं: ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपियाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा तीन लाख १८ हजार ५ सय, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपियाँ भेटी सङ्कलन भएको छ।
यस अवधिमा कुल २० हजार ५२२ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन्। तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९, भदौमा छ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थयात्रीले दर्शन गरेका हुन्।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष भेटी सङ्कलन र तीर्थयात्रीको सङ्ख्या दुवैमा कमी आएको छ। गत वर्षको साउनदेखि असोजसम्म ५४ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो भने ३६ हजार जनाले दर्शन गरेका थिए। यस वर्ष गत वर्षको तुलनामा झण्डै २१ लाख रुपियाँ कम भेटी उठेको छ। भोटेकोशीमा आएको बाढी लगायतका कारण तीर्थयात्रीको सङ्ख्यामा कमी आएको समितिले जनाएको छ।

