काठमाडौं: मकवानपुरको राक्सिराङ गाउँपालिका-२ जुवालमा आइतबार भएको आगलागीबाट धनबहादुर चेपाङको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका कारण घर खरानी भएपछि चेपाङ परिवारको बसोबासमा समस्या उत्पन्न भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।
आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। घटनापछि गाउँपालिकाले पीडित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराएको छ। अध्यक्ष मल्लले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै सबैलाई आगलागीजस्ता विपद्बाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन्।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

