काठमाडौं: कालीकोटको मुल्फा बजारस्थित पिपलडाँडामा रहेको २५ केभीए क्षमताको ट्रान्सफर्मर जलेपछि जुम्ला र मुगु जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ।
गएराति करिब १२:३० बजे ट्रान्सफर्मरमा समस्या आएपछि तिला फिडरमार्फत हुँदै आएको विद्युत् आपूर्ति बन्द भएको हो। विद्युत् सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका उपभोक्ता प्रभावित भएका छन्।
कालीकोट वितरण केन्द्रका फोरम्यान जयप्रसाद पाण्डेका अनुसार अहिले उक्त स्थानमा ट्रान्सफर्मर प्रतिस्थापनको काम भइरहेको छ। ट्रान्सफर्मर फेर्ने कार्यका लागि केही समय तिला फिडरको विद्युत् सेवा बन्द रहने केन्द्रले जनाएको छ। मर्मत कार्य सम्पन्न भएपछि विद्युत् सेवा पुनः सञ्चालनमा आउने पाण्डेले जानकारी दिनुभयो।

