काठमाडौं: स्ट्रेट अफ होर्मुज पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलकै क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन्। बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा उनले आइतबार यस्तो जानकारी दिएका हुन्।
अराघचीका अनुसार शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र स्ट्रेट अफ होर्मुज खोल्न इरानले राखेका सर्तहरू अमेरिकालाई बुझाइसकिएको छ। अमेरिकाले उक्त योजनामा आफ्नो धारणा दिइसकेको र इरानले अहिले त्यसको समीक्षा गरिरहेको उनले बताए। अराघचीले भने, इरानको योजना अझै पनि छलफलको टेबुलमा छ। उनका अनुसार अमेरिकाले सर्त पूरा गरेको खण्डमा छैटौँ दिनमा स्ट्रेट अफ होर्मुज पुनः खोलिने र सातौँ दिनमा वार्ता सुरु हुनेछ।
इरानका सर्तहरू विगतमा अमेरिकाले स्वीकार गरिसकेका प्रतिबद्धतासँग सम्बन्धित रहेको अराघचीको दाबी छ। उनले इरान कुनै पनि धम्कीका अगाडि नझुक्ने तर कूटनीतिक समाधानका लागि तयार रहेको बताए। यसअघि फेब्रुअरी २८ मा तेहरानलगायतका सहरमा इजरायल र अमेरिकाले संयुक्त आक्रमण गरेपछि इरानले होर्मुजमा आफ्नो नियन्त्रण कडा बनाएको थियो।
अप्रिल ८ मा युद्धविराम भएपछि जुन १८ मा दुवै पक्षले युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। उक्त समझदारीअनुसार आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवाका विषयमा ६० दिनभित्र वार्ता गर्ने तय भएको थियो। अगस्ट १७ मा उक्त समयसीमा सकिए पनि पर्याप्त प्रगति हुन सकेको छैन। विश्वको प्रमुख ऊर्जा पारवहन मार्गका रूपमा रहेको होर्मुजमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति र ऊर्जा बजारमा असर पार्ने भएकाले यस विषयलाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ।

