काठमाडौं: घरेलु मागमा आएको गिरावट र विश्वव्यापी ऊर्जा सङ्कटका कारण चीनको यस वर्षको आर्थिक वृद्धिदर सरकारी लक्ष्यभन्दा कम रहने अनुमान गरिएको छ। निर्यातमा केही सुधार देखिए पनि घरजग्गा क्षेत्रको सुस्तता र उपभोक्ताको कमजोर खर्च गर्ने प्रवृत्तिले चिनियाँ अर्थतन्त्रमा दबाब कायमै राखेको छ।
एएफपीद्वारा अर्थशास्त्रीहरूबीच गरिएको पछिल्लो सर्वेक्षणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म चीनको अर्थतन्त्र ४.४ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। यसअघि दोस्रो त्रैमासिकमा वृद्धिदर ४.३ प्रतिशत रहेको थियो। चीनले चालु वर्षमा ४.५ देखि ५ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।
हुटोङ रिसर्चकी अर्थशास्त्री गुओ शानले निर्यात हाल चिनियाँ अर्थतन्त्रको एक मात्र बलियो आधार बनेको बताएको छ। उनका अनुसार घर खरिदमा दिइएको अनुदान र पूर्वाधारमा गरिएको लगानीले मात्र अर्थतन्त्रलाई गति दिन पर्याप्त नहुन सक्छ। ऊर्जा लागतमा भएको वृद्धिलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय मुद्राकोषले पनि चीनको वार्षिक आर्थिक वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ।
कम्प्युटर, अर्धचालक र कृत्रिम बौद्धिकता सम्बन्धी उपकरणको विश्वव्यापी मागका कारण चीनको निर्यातमा भने वृद्धि भएको छ। यद्यपि, बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली सङ्घसँगको तनावलाई थप बढाएको छ। चीनले आफ्ना घरेलु उद्योगलाई दिने अनुदानका कारण विदेशी बजारमा अनुचित प्रतिस्पर्धात्मक लाभ पाएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ।
अर्थशास्त्रीहरूका अनुसार चीनले निर्माण, घरजग्गा र निर्यातमा मात्र केन्द्रित रहेको आफ्नो अर्थतन्त्रलाई अब घरेलु उपभोगमा आधारित दिगो विकासतर्फ लैजान आवश्यक छ। तर, घरेलु माग कमजोर रहँदा चिनियाँ उत्पादकहरू नयाँ बजारको खोजीमा विदेशतर्फ नै केन्द्रित हुन बाध्य भएका छन्।
