Logo

‘गर या मर’को अवस्थामा धेरै चिनियाँ ईभी उत्पादक

अ+ अ-

काठमाडौं – चीनमा चलिरहेका ५० भन्दा बढी इलेक्ट्रीक कार ब्राण्डले भविष्यमा ठूलो र सफल कार निर्माता बन्ने योजनासहित पैसा खर्च गरिरहेका छन् । कम्पनीहरूले बजारमा टिक्नकै लागि पनि ठूलो मात्रामा छुट दिएर गाडी बिक्री गरिरहेका हुन् ।

अमेरिकाको प्रसिद्ध इन्भेष्टमेन्ट बैंक जेपी मोर्गनका अनुसार गत अप्रिलमा चिनियाँ ईभी बजारको औषत छुट १६.८ प्रतिशत पुगेको छ । यो अघिल्लो महिना मार्चमा १६.३ सम्म थियो ।

चाइना प्यासेन्जर कार एशोसियशनले सन् २०२४ को औसत छुट ८.३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैले गतवर्ष ईभी कम्पनीहरूको बिक्री मूल्य र गाडीको उत्पादन लागतमा मात्र १० प्रतिशतको मार्जिन थियो । जुन, त्यसअघिको वर्ष २० प्रतिशतसम्म रहँदै आएको थियो ।

जेपी मोर्गनका अनुसार चीनमा संचालनरत ५० बढी ईभी ब्राण्डमा बीवाइडी, ली अटो र सेरेस ग्रुप मात्रै फाइदामा रहेका छन् । चीनमा तीव्र प्रतिस्पर्धा भइरहेको कारण अधिकांश ब्राण्डहरूलाई ‘गर या मर’को अवस्था सृजना भएको छ । त्यसैले अधिकांश कम्पनी आफूलाई टिकाइ राख्न मार्जिन घटाएर भए पनि संख्यात्मक बिक्रीमा केन्द्रीत भएको देखिन्छ ।

रिपोर्टको मुताविक चीनमा गाडी किन्ने ग्राहकलाई छुट नदिने ब्राण्डले गाडी बिक्री गर्न सकिरहेका छैनन् । त्यसैले बिक्री संख्या घटाउनुभन्दा छुट दिएरै भए पनि बिक्री बढाउने योजना कम्पनीले बनाएका छन् । यो चक्करमा कम्पनीहरूले ठूलो रकम ‘बर्न’ गरिरहेका छन् ।

नेपाली बजारमा समेत पछिल्ला महिनामा आयात भएका चल्तीका ईभी मोडलहरूमा २ देखि ५ हजार डलरसम्म मूल्य घटेर आयात भएको देखिन्छ । कतिपय ब्राण्डले घटेको मूल्यलाई चुपचाप केही मूल्य घटाएर बिक्री गरेका छन् । कतिले एक्सचेन्ज अफरमा ५ देखि १० लाखसम्म ग्राहकलाई दिएर गाडी बेचेका छन् ।

अहिलेसम्म कुनै पनि ईभी ब्राण्डले अधिकतम खुद्रा बिक्री मूल्य भने घटाएका छैनन् । जे होस् चीनमा चलेको मूल्य कटौतीको प्रतिस्पर्धाले नेपालबाट बाहिर जाने रकम भने केही बचत भएको छ ।