काठमाडौं। बेलायती बैंकिङ समूह बार्कलेजले विश्वभरबाट करिब ५ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ।
बैंकले आफ्नो व्यावसायिक कार्यसम्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउने योजनाअनुरुप यो कदम चालेको हो।
बीबीसी हिन्दीका अनुसार बैंकले बेलायतका लागि गर्ने धेरैजसो ब्याक-अफिस काम भारतबाट हुने गरेकाले यो कटौतीको ठूलो असर भारतमा कार्यरत कर्मचारीहरूमा पर्ने देखिएको छ।
बार्कलेजका अनुसार हालसम्म १ हजार पदहरू समाप्त भइसकेका छन् भने यो वर्षको अन्त्यसम्म थप ४ हजार पदहरू खारेज गर्ने तयारी छ। यस कटौतीसँगै बैंकको विश्वभर रहेको कुल जनशक्तिमा करिब ५ प्रतिशतले कमी आउनेछ।
बैंकले आफ्नो कारोबारलाई आधुनिक बनाउने निरन्तरको योजनाको एक हिस्साका रूपमा यो कटौती गरिएको स्पष्ट पारेको छ। एआई प्रविधिको प्रयोगले सेवा थप प्रभावकारी हुने बैंकको विश्वास छ। हाल बार्कलेज आफ्नो तीन वर्षे खर्च कटौती कार्यक्रमको अन्तिम चरणमा छ। यो अभियान मुख्य रूपमा बेलायतको रिटेल बैंकिङ कारोबारमा केन्द्रित रहे पनि यसको प्रभाव इन्भेस्टमेन्ट बैंकिङ विभागमा पनि परेको छ।

