मुगु। मुगु सदरमुकाम गमगढीबाट चीनको सीमा नाक्चेलाग्ना जोड्ने सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि मुगुम कार्मारोङ गाउँपालिका अझै सडक सञ्जालमा जोडिन सकेको छैन।
दुई दशकअघि सर्वेक्षण गरिएको ९३ किलोमिटर लामो उक्त सडकको हालसम्म साढे १८ किलोमिटर मात्र ट्र्याक खुलेको छ। निर्माणको सुस्त गतिले स्थानीयको दैनिक जीवन, स्वास्थ्य सेवा र आर्थिक गतिविधि प्रभावित बनेको छ।
सडकको अभावमा स्थानीयवासी खाद्यान्न, औषधि र निर्माण सामग्री ढुवानीका लागि खच्चड तथा भरियामा निर्भर छन्। मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाका अनुसार सडक नहुँदा बिरामीलाई अस्पताल पुर्याउन र अत्यावश्यक औषधिको आपूर्ति गर्न निकै कठिन छ। ढुवानी खर्च महँगो हुँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको छ।
सडक डिभिजन जुम्लाका अनुसार हाल गमगढी-नाक्चेलाग्ना खण्डमा ट्र्याक खोल्न १५ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ, जसको म्याद २०८४ असार मसान्तसम्म छ।
सरकारले चालु आर्थिक वर्षका लागि यस सडक खण्डमा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कडा चट्टान र जोखिमपूर्ण भीरका कारण निर्माणमा चुनौती देखिएको छ। माङ्ग्री भीरको २२० मिटर कडा चट्टान फुटाउन नेपाली सेनाको समन्वयमा ब्लास्टिङको काम भइरहेको छ।
यो क्षेत्र यार्सागुम्बा, जडीबुटी र कृषि उत्पादनका लागि उर्वर भए पनि बजारसम्मको पहुँच नहुँदा किसानले लाभ लिन सकेका छैनन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले कर्णालीको समग्र विकासका लागि यो सडकलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, ‘कर्णालीको समग्र विकास यही मार्गबाट मात्रै सम्भव छ।’
भौगोलिक विकटताका बाबजुद सडकको रणनीतिक र आर्थिक महत्त्वलाई ध्यानमा राख्दै निर्माणमा तीव्रता दिनुपर्ने आवश्यकता छ।
बजेट विनियोजनसँगै भौतिक प्रगतिको नियमित अनुगमन र निर्माण सामग्रीको समयमै व्यवस्थापन नहुँदा आयोजना वर्षौंदेखि अधुरो छ। १० वर्षमा साढे १८ किलोमिटर मात्र काम हुनुले निर्माणको गति र स्थानीयको आवश्यकताबीच ठूलो खाडल देखिएको छ।

