काठमाडौं। बडा दसैँ सकिएलगत्तै गोरखाको सिरानचोक गाउँपालिका ८ धारापानीका किसान कोदो भित्र्याउन व्यस्त भएका छन्।
असार अन्तिमतिर रोपिएको कोदो पाकेपछि किसानहरू अहिले बाली टिप्ने, सुकाउने र भण्डारण गर्ने काममा जुटेका हुन्। कोदो भित्र्याइसकेपछि किसानहरू खेतबारीमा तोरी छर्ने तयारीमा समेत रहेका छन्।
पहाडी भेगका किसानका लागि कोदो प्रमुख खाद्यान्न बाली हो। भिरालो जमिन र कम सिँचाइ हुने स्थानमा पनि उत्पादन गर्न सकिने भएकाले पहाडी क्षेत्रमा यो बाली निकै महत्त्वपूर्ण मानिन्छ। गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा र जुम्लालगायतका जिल्लाहरू कोदो खेतीका लागि परिचित छन्।
कोदोबाट ढिँडो, रोटी, सातु र पिठोजस्ता परिकार बनाइन्छ। पछिल्लो समय सहरबजारमा कोदोजन्य परिकारको माग बढ्दै गएको छ, जसमा रेसा र खनिज पदार्थलगायत पोषक तत्त्व पाइन्छ।
कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा दुई लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो।
सो वर्ष दुई लाख ८४ हजार ३५२ मेट्रिक टन कोदो उत्पादन भएको थियो। यद्यपि, सरकारी तथ्याङ्कले पछिल्ला वर्षहरूमा कोदो खेती हुने क्षेत्रफल र उत्पादन दुवै घट्दै गएको देखाएको छ।
ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव, युवा पुस्ताको खेतीप्रति घट्दो आकर्षण र बजार व्यवस्थापनमा देखिएका चुनौतीका कारण कोदो उत्पादन प्रभावित भएको छ।
स्वदेशमा माग बढे पनि आयात गर्नुपर्ने अवस्था रहेको छ। रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्न सके किसानको आयआर्जन बढ्ने देखिन्छ।

