मुस्ताङ। यस वर्षको दसैंको अवसरमा मुस्ताङबाट ३६ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा बिक्री भएका छन्।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार मुस्ताङका पाँच स्थानीय तहका साथै डोल्पा, मुगु र हुम्लाबाट ल्याइएका कुल १३ हजार ९ सय ५० वटा भेडाच्याङ्ग्रा बिक्रीका लागि बजारमा पुगेका थिए।
कार्यालय प्रमुख डा. लालमणी अर्यालका अनुसार यस वर्ष मुस्ताङका किसानले ७ हजार ९ सय ६४ च्याङ्ग्रा र १ हजार २ सय ४ भेडा बिक्री गरेका छन्।
त्यस्तै, डोल्पाबाट ३ हजार ५ सय ५१, मुगुबाट २ सय ६०, जुम्लाबाट ३ सय र कोरला नाका हुँदै ४ सय ३८ वटा भेडाच्याङ्ग्रा मुस्ताङ भएर बाहिरिएका छन्।
गत वर्षको तुलनामा यस वर्ष किसानले राम्रो मूल्य पाएका छन्। गत आर्थिक वर्षमा १५ हजार ६ सय वटा भेडाच्याङ्ग्रा बिक्रीबाट ३६ करोड ५० लाख रुपैयाँ भित्रिएको थियो।
मुस्ताङका किसानले भेडाच्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ५२ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्। लो-घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भेडाच्याङ्ग्रा पालनका लागि मुख्य पकेट क्षेत्र मानिन्छन्।
लोमान्थाङ गाउँपालिका-१ छोसेरका किसान आङयाल गुरुङले मात्रै यस वर्ष १ करोड ५० लाख रुपैयाँभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री गरेको बताउनुभयो।
डा. अर्यालले दसैंमा उत्साहजनक बिक्री भएको र बाँकी रहेका भेडाच्याङ्ग्रा तिहारलाई लक्षित गरी बजारमा पठाइने जानकारी दिनुभयो। तिहारमा थप २ करोड रुपैयाँ बराबरको बिक्री हुने अनुमान गरिएको छ।
हिमपात र बाढीपहिरोका कारण डोल्पाबाट आउने भेडाच्याङ्ग्राको संख्यामा कमी आएकाले बजारमा मूल्य बढेको व्यापारी ज्ञानकुमार श्रेष्ठले बताउनुभयो। लेकाली जडीबुटी खाएर हुर्किने भएकाले हिमाली भेडाच्याङ्ग्राको मासु पोसिलो मानिन्छ।

