काठमाडौं: कालीगण्डकी नदीमा आएको बाढीका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ र १ को सिमानामा रहेको भीरकाटेपुल जोखिममा परेको छ। सो पुलले दोबा गाउँलाई बेनी-जोमसोम-कोरला सडक खण्डसँग जोड्ने गर्दछ। नदीले पुलको भीरकाटेतर्फको पहुँचमार्ग कटान गरेपछि स्थानीय बासिन्दाको आवतजावत कष्टपूर्ण बनेको छ।
अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनका अनुसार पुलको पहुँचमार्ग भत्किएपछि सवारीसाधनको आवागमनमा गम्भीर जोखिम बढेको छ। करिब दुई दशकअघि निर्माण गरिएको यो बेलिब्रिज सडक विभागको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसको मर्मतसम्भारको जिम्मेवारी पनि विभागकै रहेको उनले बताइन्। गाउँपालिकाले यस विषयमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराइसकेको छ।
हाल सो बेलिब्रिज एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। स्थानीय बासिन्दा अमृत पुनका अनुसार नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्ण रूपमा भत्किने खतरा छ। करिब ३०० घरधुरी रहेको दोबा गाउँलाई मुख्य सडक मार्गसँग जोड्ने यो एकमात्र पुल भएकाले तत्काल मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन्।
