ताप्लेजुङ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई साताको अवधिमा २७ लाख ३५ हजार ३७० रुपियाँ बराबरको चिनी बिक्री गरेको छ । असोज १४ देखि ३० गतेसम्मको अवधिमा कुल २४ हजार ८६७ किलोग्राम चिनी बिक्री भएको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो ।
शाखाले प्रतिकिलोग्राम ११० रुपियाँका दरले चिनी बिक्री गरिरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलोग्राम १२५ देखि १४० रुपियाँसम्म पर्ने भएकाले उपभोक्ता खाद्य कम्पनीको सहुलियत दरप्रति आकर्षित भएका हुन् । शाखा स्थापना भएको साढे चार दशकपछि पहिलो पटक चिनी बिक्री सुरु गरिएको हो ।
यसैगरी, शाखाले असोज २५ देखि मसुरो दाल पनि बिक्री गर्न सुरु गरेको छ । असोज ३० गतेसम्मको छ दिनको अवधिमा दुई हजार १६३ किलोग्राम दाल बिक्रीबाट तीन लाख १३ हजार ५०५ रुपियाँ आम्दानी भएको सूचना अधिकारी जलान्धरप्रसाद यादवले बताउनुभयो ।
खाद्य कम्पनीले चामलका अतिरिक्त दाल र चिनी बिक्री सुरु गरेको हो । भविष्यमा खानेतेल पनि बिक्री गर्ने योजना रहेको शाखाले जनाएको छ । यसबाहेक, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शाखाले ७२ लाख ५५ हजार ८७५ रुपियाँको चामल बिक्री गरेको छ । यस अवधिमा ५७ हजार २५० किलोग्राम स्टिम जिरा मसिनो र २४ हजार ७०० किलोग्राम सोना मन्सुली चामल बिक्री भएको छ ।
