काठमाडौं। बाढीपहिरो र सडक अवरोधका कारण केही समय प्रभावित बनेको चितवनको सौराहामा अहिले पर्यटकीय चहलपहल बढेको छ।
दसैँ बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।
सौराहामा पर्यटन व्यवसाय गर्दै आउनुभएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चाप बढेको बताए। उनले भने, “अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन्। कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन्। सबैतिर चहलपहल र दौडधुप देखिन्छ।”
वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले दसैँको समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको जानकारी दिनुभयो। रिसोर्टका सबै कोठा पछिल्ला दुई-तीन दिनदेखि भरिएको बताउँदै उनले भने, “पाहुनालाई कोठा पुर्याउन निकै मुस्किल भइरहेको छ। व्यवस्थापनमा व्यस्तता बढेको छ। अहिले नेपाली पर्यटक नै बढी देखिन्छन्।”
पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यस वर्ष दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताए।
सौराहामा जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाच मुख्य आकर्षण रहेका छन्। तिवारीका अनुसार पर्यटकको मागअनुसार सेवा उपलब्ध गराइएको छ। उनले भने, “यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ।”
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले प्राकृतिक विपत्तिका कारण यो सिजनको सुरुवात करिब एक महिना ढिला भएको बताए।
बाढीपहिरो र सडकको अवस्थाले बुकिङ प्रभावित भए पनि पछिल्लो समय पर्यटकको आगमन सन्तोषजनक रहेको उहाँको भनाइ छ। सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार मानिन्छ।
