काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। प्रतियोगिताका लागि विभिन्न देशका खेलाडी, प्रशिक्षक र समर्थकहरूको आगमनले होटल, खानपान र यातायात क्षेत्रमा आर्थिक गतिविधि बढाएको छ। होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै आतिथ्य उद्योगलाई प्रत्यक्ष लाभ पुर्याएको बताएका छन्।
प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टिम ठूला होटलहरूसँग आवद्ध भएका छन्। सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवनलगायतका टोलीका समर्थकहरू खेल हेर्न आएर होटलमा बसिरहेकाले पर्यटन क्षेत्र चलायमान भएको छ। शाहका अनुसार एनपीएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नभई स्पोर्ट्स टुरिजमको माध्यमका रूपमा विकास गर्न आवश्यक छ। दक्षिण एसियाका क्रिकेट प्रेमीहरूलाई आकर्षित गर्न यसलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त हुनु र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति हुनु नेपालका लागि ठूलो अवसर भएको शाहको भनाइ छ। यसलाई पर्यटनसँग जोड्न सके थप लाभ लिन सकिने उनले उल्लेख गरे। हाल नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्छन्, तर वार्षिक ११ देखि १२ लाखको हाराहारीमा मात्र पर्यटक आइरहेका छन्।
पर्यटन क्षेत्रको लगानी जोगाउन र थप पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा शाहले जोड दिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले उडान सुरु गरे पनि हवाई कनेक्टिभिटी अझै सीमित रहेको छ। साथै, रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विदेशी पर्यटकले नेपालको सुरक्षा अवस्थाबारे चासो राख्ने गरेकाले सरकारी निकायबाट स्पष्ट सूचना प्रवाह गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
