काठमाडौं: बेनी-जोमसोम सडकखण्ड लामो समय अवरुद्ध हुँदा यस वर्ष मुस्ताङको स्याउले बजार पाउन सकेको छैन। सडक सञ्चालनमा ढिलाइ हुँदा स्याउ समयमै बजार पुग्न नसकेपछि व्यापारी र किसान मर्कामा परेका छन्।
मुस्ताङमा यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको थियो। विगतमा असोज महिनाभित्रै स्याउ बिक्री भइसक्ने भए पनि यस पटक सडक अवरुद्ध हुँदा दशैंको मुखमा मात्र बजार पुगेको थियो। एकैपटक ठूलो परिमाणमा स्याउ बजारमा आउँदा पोखरा र काठमाडौंका गोदामहरू भरिएका छन्।
धादिङका व्यापारी राजु तामाङले एक करोड रुपैयाँभन्दा बढीको स्याउ खरिद गरे पनि आधा मात्र बिक्री भएको बताए। उनले भने, ‘स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनाबमा परेको छु।’
चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले ४० प्रतिशत स्याउ अझै टिप्न बाँकी रहेको र बोटमै पाकेर झर्न थालेको जानकारी दिए। उनले ४०० टन स्याउ कोल्ड स्टोरमा राखेको बताए। मुस्ताङको कृषि तथा पशु विकास कार्यालयका अनुसार हालसम्म उत्पादनको ५० प्रतिशत मात्र बजारमा पुगेको छ। कार्यालय प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध हुनु नै बजारीकरणमा मुख्य समस्या भएको बताए।
