काठमाडौं: सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसानहरू मारमा परेका छन्। उखु क्रसिङ सिजन सुरु हुन लाग्दा पनि मूल्य तय नभएपछि किसानहरू आफ्नो उत्पादन खाडसारी उद्योगलाई पुरानै मूल्यमा बिक्री गर्न बाध्य भएका हुन्।
हिन्दुहरूको महान् पर्व छठ नजिकिँदै गर्दा बजारमा सख्खरको माग बढेको छ। यसले खाडसारी उद्योगहरूले उखु पेल्न सुरु गरे पनि किसानले भने उचित मूल्य पाएका छैनन्। उखु उत्पादक संघका अध्यक्ष अशोक यादवका अनुसार गत वर्षको तुलनामा यस वर्ष उखु खेतीको लागत झन्डै दोब्बरले बढेको छ। इन्धन, मलखाद, खेत जोताइ, बीउ, सिँचाइ र मजदुरको ज्याला बढेको भन्दै उनले लागतअनुसार यस वर्ष उखुको मूल्य दोब्बर हुनुपर्ने माग गरे।
किसान अगुवा कामेश्वर सहनीले सरकारी टोलीले अध्ययन गरेर फर्किए पनि क्रसिङ सिजन सुरु हुँदासम्म मूल्य नतोकिएको बताए। गढीमाई नगरपालिकाका किसान राजन ठाकुरका अनुसार बजारमा सख्खरको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगे पनि किसानले उखुको उचित मूल्य पाउन सकेका छैनन्। खेत खाली गरेर अर्को बाली लगाउनुपर्ने बाध्यता र उखु सुक्ने जोखिमका कारण किसानहरू न्यून मूल्यमै बिक्री गर्न विवश छन्।
अर्का किसान सन्तोष पटेलले आफूले प्रतिक्विन्टल ५०० रुपैयाँका दरले उखु बिक्री गर्नुपरेको बताए। गढीमाईका सख्खर उद्योग सञ्चालक शिवमंगल दासले सरकारले मूल्य निर्धारण नगरेका कारण सुरुवाती चरणमा गत वर्षकै मूल्यमा खरिद गरिरहेको स्वीकार गरे। सरकारले समयमै मूल्य नतोक्दा किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको भन्दै तत्काल मूल्य निर्धारण प्रक्रिया टुंग्याउन माग गरेका छन्।
