काठमाडौं: एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि २९ लाख ६४ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ। संघले बाढी राहत अभियानमार्फत संकलन गरेको उक्त रकम भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हस्तान्तरण गरिएको हो।
संघका अध्यक्ष डा. चण्डिका प्रसाद भट्टका अनुसार बाढीबाट प्रभावित समुदायको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको थियो। यस अभियानमा नेपालसहित थाइल्यान्ड, अमेरिका, जापान, कम्बोडिया र फिलिपिन्समा रहेका सहयोगीहरूले आर्थिक योगदान गरेका छन्।
डा. भट्टले संकटको समयमा एकता, सहकार्य र मानवीय भावनालाई प्रतिबिम्बित गर्न यो सहयोग गरिएको बताए। संघले सामाजिक उत्तरदायित्वको भावले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
