काठमाडौं: फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले ललितपुरमा १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको यो मेला तिहार र छठ पर्वलाई लक्षित गरी सुरु भएको हो।
पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। जसमा ७८ वटा व्यावसायिक, एक प्लान्ट क्लिनिक, चार अफिसियल, दुई प्रतियोगितात्मक र एक फोटो सेल्फी स्टल रहेका छन्। मेलामा नेपालमा उत्पादित गोदावरीका विभिन्न जातका साथै यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरू प्रदर्शनी र बिक्रीका लागि उपलब्ध छन्।
आयोजकका अनुसार नर्सरी तथा फार्महरूबिच मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइएको छ। उत्कृष्ट स्टल र उत्कृष्ट पुष्प सजावट विधाका विजेताहरूलाई सिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिनेछ।
यस प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
