काठमाडौं: पनौती नगरपालिका-९ स्थित रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान बिहानैदेखि च्याउ टिप्न व्यस्त हुन्छन्। १० वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका उनी अहिले आफ्नै गाउँमा च्याउखेतीमार्फत भविष्य खोजिरहेका छन्। विदेशमा परिवारबाट टाढा रहँदा भोगेको अभावले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा दिएको हो।
स्याङ्तानको परिवारले विसं २०६५ देखि नै च्याउखेती गर्दै आएको थियो। विदेशबाट फर्किएपछि उनले त्यही पारिवारिक व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्ने निधो गरे। सुरुमा २० हजार रुपैयाँ लगानीमा पाँचवटा टनेलबाट खेती थालेका उनले अहिले २७ वटा टनेलमा खेती गरिरहेका छन्। टनेल निर्माणमा उनले २१ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन्। व्यवसाय विस्तारका लागि उनले सहकारीबाट ऋणसमेत लिएका छन्।
खेतीमा उनलाई परिवारको पूर्ण साथ छ। बाआमा, भाइ र बुहारी मिलेर च्याउको हेरचाह तथा व्यवस्थापन गर्छन्। उनी अहिले अनलाइन कक्षा लिएर खेतीसम्बन्धी नयाँ प्रविधि र ज्ञान सिक्न सक्रिय छन्। एक टनेलमा ४४० प्याकेट च्याउ राखिन्छ, जसबाट एक लटमा ८०० देखि ९०० किलोसम्म उत्पादन हुने गर्छ। वर्षमा एक टनेलबाट दुई लट उत्पादन लिन सकिन्छ।
च्याउ टिप्न उनी राति १ बजे नै उठ्छन् र ३ः३० बजेसम्म टिपिसक्छन्। उत्पादित कन्या च्याउ थोक मूल्यमा प्रतिकिलो १५० रुपैयाँमा बिक्री हुने गरेको छ। स्याङ्तानका अनुसार एउटा टनेलबाट वर्षमा करिब ५० हजार रुपैयाँ आम्दानी हुन्छ। गत वर्ष स्थानीय सरकारबाट दुई लाख रुपैयाँ अनुदान पाएपछि व्यवसाय विस्तारमा थप सहयोग पुगेको उनले बताए। उत्पादन लागत र श्रमको तुलनामा उचित मूल्य पाउन चुनौती रहेको बताउँदै उनले सरकारी निकायबाट थप प्राविधिक सहयोग र सहुलियतपूर्ण ऋणको अपेक्षा गरेका छन्।
