काठमाडौं: केही समयअघि देशका विभिन्न स्थानमा गएको विनाशकारी बाढीपहिरोका बाबजुद नेपालको पर्यटन क्षेत्रमा चहलपहल पुनः बढ्न थालेको छ। प्राकृतिक विपत्तिका कारण केही समय पर्यटक आवागमन प्रभावित हुनुका साथै भ्रमण बुकिङहरू रद्द भएका थिए। तर पछिल्ला तथ्यांकले पर्यटन क्षेत्र लयमा फर्किन थालेको देखाएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को सेप्टेम्बरको तुलनामा यस वर्षको सोही महिनामा पर्यटक आगमनमा सुधार देखिएको छ। सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएकामा सन् २०२६ को सेप्टेम्बरमा यो संख्या बढेर ८८ हजार २ सय ४८ पुगेको छ। बोर्डका अनुसार गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन करिब १२ प्रतिशतले बढेको छ। तथ्यांकअनुसार सन् २०२६ को जुन महिनामा ९१ हजार ३ सय ६३, जुलाईमा ७१ हजार ७ सय ७५ र अगस्टमा ८५ हजार ४ सय ४४ पर्यटक नेपाल आएका थिए।
पर्यटन क्षेत्रले पछिल्लो समय रसुवाको भोटेकोसी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीका कारण ठूलो क्षति व्यहोर्नुपरेको थियो। बाढीले पर्यटकीय गन्तव्य जोड्ने सडक र पूर्वाधारमा क्षति पुर्याउँदा आवागमन अवरुद्ध भएको थियो भने कतिपय स्थानमा पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको थियो।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का सचिव रमेश पराजुलीका अनुसार बाढीपहिरो र अन्य अन्तर्राष्ट्रिय परिस्थितिका कारण पछिल्ला दुई महिनामा सयौँ पर्यटकले भ्रमण प्याकेज रद्द गरेका थिए। यद्यपि पछिल्ला महिनामा देखिएको सुधारले पर्यटन क्षेत्रमा पुनः सकारात्मक संकेत गरेको छ।
