काठमाडौं: विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाखभन्दा बढी आन्तरिक तथा बाह्य यात्रुलाई यातायात सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट यात्रु तथा पर्यटकलाई उनीहरूको गन्तव्यसम्म सुरक्षित रूपमा पुर्याउन दिवा तथा रात्रिकालीन सेवा सञ्चालन गरिरहेको छ। कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाका अनुसार दैनिक चार हजारभन्दा बढी यात्रुले यो सेवा लिने गरेका छन्। हाल लिमिटेडले २०८ वटा पर्यटकीय सवारी साधनमार्फत सेवा दिइरहेको छ।
अध्यक्ष सिम्खडाले व्यवस्थित यातायात सेवाले नेपाल भ्रमणमा आउने पर्यटकको बसाइ सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले पर्यटकको बढ्दो आवागमनलाई ध्यानमा राख्दै सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन निरन्तर काम भइरहेको उल्लेख गरे।
यद्यपि, निजी नम्बर प्लेटका सवारी साधनले गैरकानुनी रूपमा भाडामा यात्रु बोक्ने कार्यले गर्दा व्यवसायीहरू समस्यामा परेको उनको भनाइ छ। सन् २०१० मा स्थापना भएको यस कम्पनीमा हाल ४५० भन्दा बढी स्वरोजगार चालक तथा कर्मचारी कार्यरत छन्।
