बुटवल: लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट खर्च विवरण मासिक रूपमा सार्वजनिक गर्न सकेको छैन। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा देखिएको प्राविधिक समस्याका कारण खर्चको विवरण वेबसाइटमार्फत सार्वजनिक हुन नसकेको हो।
सामान्यतया प्रदेशका मन्त्रालयहरूको चालु तथा पुँजीगत खर्च विवरण प्रत्येक महिनाको १ गते सार्वजनिक गर्ने प्रचलन रहेको छ। तर चालु आर्थिक वर्ष सुरु भएदेखि नै मासिक खर्च विवरण सार्वजनिक हुन सकेको छैन। अन्य प्रदेशहरूले भने आफ्नो खर्च विवरण सार्वजनिक गरिसकेका छन्।
लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार मन्त्रालयहरू एकआपसमा गाभिएर नयाँ संरचना बनेपछि सफ्टवेयरमा विवरण प्रविष्ट गर्न समस्या भएको हो। मन्त्रालय मर्ज हुँदा सफ्टवेयरले पुराना मन्त्रालयका विवरण तान्ने गरे पनि नयाँ मन्त्रालयको विवरण समेट्न समस्या देखिएको छ। यसका साथै केही दिन सर्भर डाउन हुँदा पनि विवरण अद्यावधिक गर्ने काम प्रभावित भएको छ।
पौडेलले भने, सङ्घीय अर्थ मन्त्रालयसँग पनि यस विषयमा संवाद भइरहेको छ। सफ्टवेयर मिलाउने प्रयास निरन्तर जारी छ। अब एक-दुई दिनभित्र समस्या समाधान हुन सक्छ। उनले सबै विवरण पूर्ण रूपमा तयार भएपछि मात्रै वेबसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन्।
