काठमाडौं: नेपालगञ्जका मिठाइ व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाइमा अनिवार्य रूपमा लेबलिङ गर्न आग्रह गरिएको छ। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी व्यवसायीहरूसँग भएको अन्तरक्रियामा मिठाइको नाम, मुख्य मिश्रण, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग्य मिति र मूल्य सूची स्पष्ट रूपमा खुलाउन निर्देशन दिइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेले सोमबारभित्र लेबलिङ सुरु गरिसक्न व्यवसायीहरूलाई समयसीमा तोकेको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले म्याद नाघेका सामग्री भण्डारण नगर्न सचेत गराउँदै नियम पालना नगर्नेलाई कारबाही गरिने चेतावनी दिए। उनले पसलमा सरसफाइ र खानेपानीको व्यवस्थापनमा कुनै सम्झौता नहुने स्पष्ट पारे। कार्यालय प्रमुख सुमन धितालले नेपालगञ्जका मिठाइ व्यवसायीको प्रतिष्ठा बढाउन लेबलिङ आवश्यक रहेको र यसको सुरुवात ‘द केक एण्ड बेकरी’ बाट भइसकेको जानकारी दिए।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रूपा ओझाले परम्परागत शैलीको व्यवसायलाई आधुनिक र मर्यादित बनाउन लेबलिङले सहयोग पुग्ने बताइन्। खाद्य अनुसन्धान अधिकृतहरू रामहरि लामिछाने र नेत्रा बोगटीले खाद्य स्वच्छता र कानुनी मापदण्डबारे व्यवसायीहरूलाई जानकारी गराएका थिए। मिठाइ व्यवसायी अतुलकुमार गुप्ताले सरकारी मापदण्डअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिक ११ गतेदेखि लागू हुने गरी यस्तो सूचना जारी गरेको थियो।
