काठमाडौं: नेपाल पर्यटन बोर्डले देशको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य र मौलिक संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न भन्दै ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरहरूबाट आवेदन आह्वान गरेको छ। बोर्डले सिर्जनात्मक सामग्रीमार्फत नेपालको पर्यटन क्षेत्रलाई विश्वभर पुर्याउने उद्देश्यसहित उक्त पहल सुरु गरेको हो।
यस अभियानमार्फत नेपालका हिमाली क्षेत्र, ओझेलमा परेका पर्यटकीय गन्तव्यहरू, जीवन्त संस्कृति र परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट उजागर गरिनेछ। भिडियो र तस्बिरको माध्यमबाट नेपालको असाधारण पर्यटकीय अनुभवलाई विश्वसामु प्रस्तुत गर्न सक्ने प्रतिभाहरूलाई यस अभियानमा सहभागी गराउने बोर्डको योजना छ।
बोर्डका अनुसार यस कार्यले डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग हुनुका साथै नयाँ पुस्ताका कन्टेन्ट क्रियटरहरूलाई नेपालको पर्यटन पहिचान विश्वभर फैलाउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरहरूले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण र सामाजिक सञ्जालको प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।
