काठमाडौं। एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो।
बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले वृद्धि भई ११.६४ रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा बैंकको कर्जा र निक्षेप दुवैमा वृद्धि देखिएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकले कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसतभन्दा माथि रहेको जनाएको छ।
बैंकको खराब कर्जा अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा सीमित भएको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको संकेत गर्दछ।
यस अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। साथै, सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ। बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ।
