काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ।
साउन १ देखि असोज मसान्तसम्मको अवधिमा उक्त पुर्जा वितरण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।
मन्त्रालयका अनुसार वितरण गरिएका कुल १३५ पुर्जाहरूमध्ये ११ थान भूमिहीन दलित, ४१ थान भूमिहीन सुकुम्बासी र ८३ थान अव्यवस्थित बसोबासीलाई प्रदान गरिएको हो।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि मन्त्रालयले लगत सङ्कलन, प्रमाणीकरण र नापनक्साको कामलाई तीव्रता दिएको जनाएको छ।
यस अवधिमा समितिको सूचना प्रणालीमा कुल ५१ हजार ५ सय १७ वटा निवेदन दर्ता भएका छन्। जसमा भूमिहीन दलिततर्फ ७ हजार ७०, भूमिहीन सुकुम्बासीतर्फ ८ हजार ८३ र अव्यवस्थित बसोबासीतर्फ ३१ हजार ३१७ निवेदन रहेका छन्। यसबाहेक विगतका आयोगका अधुरा काम पूरा गर्न ५ हजार १२७ वटा निवेदन प्राप्त भएका छन्।
समितिले जग्गा पहिचान र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन देशभर १ हजार ९ सय ४७ कित्ता जग्गाको नापनक्सा कार्य सम्पन्न गरेको छ।
काठमाडौं उपत्यकाभित्रको समस्या समाधानका लागि भक्तपुर नगरपालिकासँग जग्गा वितरण तथा व्यवस्थापनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सहमतिपछि वास्तविक लगत सङ्कलनका लागि औपचारिक सूचनासमेत प्रकाशित भइसकेको मन्त्रालयले जनाएको छ।
