काठमाडौं: सुनसरीको बराहक्षेत्र नगरपालिका: ११, मधुवनका रोशनप्रसाद गुप्ताले वैदेशिक रोजगारीबाट फर्किएपछि सुरु गरेको व्यावसायिक च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। सात वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँको लगानीमा यो व्यवसाय थालेका हुन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने उद्देश्यले सुरु गरिएको सो व्यवसायबाट हाल सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए।
गुप्ताले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गरिरहेका छन्। उनको फार्मबाट दैनिक दुई सय किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ। वार्षिक रूपमा ३० टनभन्दा बढी च्याउ उत्पादन गरी उनले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज र बराहक्षेत्रलगायतका स्थानमा बिक्री गर्दै आएका छन्। हाल च्याउ प्रतिकिलो १८० देखि १९० रुपैयाँमा बिक्री भइरहेको छ। जाडोयाममा यसको मूल्य बढेर २२० रुपैयाँसम्म पुग्ने गर्दछ।
उनको फार्ममा हाल छ जना कामदारले रोजगारी पाएका छन् भने परिवारका सदस्यहरूले पनि खेती व्यवस्थापनमा सघाउँदै आएका छन्। च्याउखेतीमा विषादीको प्रयोग नहुने भएकाले यसको माग बढ्दो छ। गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट १ लाख र बराहक्षेत्र नगरपालिकाबाट ९० हजार रुपैयाँ अनुदान प्राप्त गरेका थिए। यसका साथै नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर र टनेललगायतका सामग्री पाएपछि काम गर्न थप सहज भएको उनले बताए। ‘थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ,’ गुप्ताले भने।
