काठमाडौं: बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा गर्ने लगानीमा गिरावट आएको छ भने सेयर धितो, सवारीसाधन र व्यक्तिगत आवासीय कर्जाको प्रवाहमा भने वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा २ खर्ब ७० अर्ब ७२ करोड ६५ लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्षको सोही अवधिमा यो लगानी २ खर्ब ७१ अर्ब ५० करोड रूपैयाँ थियो। यसरी गत वर्षको तुलनामा घरजग्गा कर्जा ७७ करोड रूपैयाँले खुम्चिएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार जग्गाको ‘लोन टु भ्यालु’ रेसियो र मूल्याङ्कन निकै न्यून भएकाले कर्जा प्रवाह बढ्न सकेको छैन। उनले भने, ‘जग्गाको कारोबार राम्रो हुँदै गइरहेको छ। तर, नीतिगत रूपमा हेर्दा लोन टु भ्यालु रेसियो ५० प्रतिशत मात्रै हुन्छ। मूल्याङ्कन निकै कम हुनुले कर्जाको लगानी कम भएको छ।’
यता सेयर धितो कर्जा भने गत वर्षको तुलनामा २२ अर्ब रूपैयाँले बढेर १ खर्ब ६७ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ। त्यस्तै, सवारीसाधन खरिदका लागि लिइने हायर पर्चेज कर्जा पनि साढे १३ अर्ब रूपैयाँले बढेको छ। भदौसम्म यस्तो कर्जा १ खर्ब ४२ अर्ब ९१ करोड ८४ लाख रूपैयाँ प्रवाह भएको छ।
त्यसैगरी, ३ करोड रूपैयाँभन्दा बढीको आवासीय व्यक्तिगत घर कर्जा पनि ५४ अर्ब रूपैयाँले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूले यस्तो क्षेत्रमा ४ खर्ब ८१ अर्ब ६८ करोड २३ लाख रूपैयाँ लगानी गरेका छन्, जुन गत वर्ष ४ खर्ब २७ अर्ब ३३ करोड ९२ लाख रूपैयाँ थियो। वाणिज्य बैंकहरूले मात्रै सेयर धितो कर्जामा १ खर्ब ४४ अर्ब ४६ करोड र हायर पर्चेजमा १ खर्ब २८ अर्ब ६७ करोड ३८ लाख रूपैयाँ लगानी गरेका छन्।
