Logo

काठमाडौं महानगरका २१६ सडकको नयाँ नामकरण, १०४९ किमी पुग्यो सडक संजाल

अ+ अ-

काठमाडौं – काठमाडौं महानगरपालिकाका १८ वटा वडाभित्र २१६ वटा सडकको नयाँ नाम (पुराना नामलाई संशोधन र नयाँ नामाकरण) वडाबाट अनुमोदन भएको छ ।

१ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन भएको हो । यसरी नयाँ नाम राखिएका वडाहरू वडा नम्बर १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९, ३० हुन् । वडा नम्बर ६, २२, २३, २६ र ३२ मा छलफल हुन बाँकी छ । अन्य वडाहरूमा नक्सामाथि छलफल चलिरहेको छ ।

वडाले सडकका नयाँ र संशोधित नाम स्वीकृत गरेपछि यसलाई भवन व्यवस्था समितिको वैठकमा पेश गरिन्छ । समितिबाट पारित भएपछि यसलाई स्वीकृत गराउन कार्यपालिका बैठकमा पेश गरिनेछ ।

काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरूलाई एकीकृत गर्ने, सडकहरूको मौलिक र बैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन तथा नक्साङन कार्यक्रमको लक्ष्य हो । यसरी पथ, सडक, मार्ग र गल्लीको नक्साङन तथा नामाकरणबाट इन्भेन्ट्री (सूची) तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ प्राप्त हुनेछ ।

१०४९ किमी पुग्यो सडक संजाल

नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिए । यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९७७ वटा छन् । यीमध्ये २ हजार ४१६ वटाको नाम दिइएको छ । २ हजार ५६१ वटाको नाम दिइएको छैन ।

वि. सं. २०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट पथ, सडक, मार्ग र गल्ली गरी २ हजार ५७८ वटा नामाङन र नक्साङ्न गरिएको थियो । ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो ।

सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङनपछि नयाँ नाम राख्ने काम भइरहेको हो ।

गत पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङनको काम थालिएको हो । महाशाखा प्रमुख श्रेष्ठका अनुसार महानगरपालिकाले २०५८ सालमा काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट संकलन गरिएको तथ्याङ, अहिले गरिएको ड्रोन म्यापिङ् (अर्थोफोटो) का आधारमा सबै वडाको वडागत नक्सा प्रिन्ट भएको छ । नक्सामा नाम भएका र नाम नभएका सडकलाई संकेत गरिएको छ । यो संकेतका आधारमा वडास्तरीय छलफलबाट पुरानालाई अनुमोदन गर्ने र नयाँ नामलाई वडाबाट अनुमोदन गराउने काम भइरहेको हो ।

बाटोको वर्गीकरण

काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमले जारी गरेको ठेगाना प्रणाली निर्देशिका २०५७ ले १४ मिटर, ४ लेन वा त्योभन्दा धेरै चौडाइ भएको सडकलाई पथ भनेको छ । १० मिटरदेखि १४ मिटरसम्मको चौडाइ भएकालाई सडक भनेको छ । ३ मिटरदेखि १० मिटर चौडाइ भएकालाई मार्ग र ३ मिटरभन्दा कम चौडाइ भएकालाई गल्ली भनेर वर्गीकरण गरेको छ ।