काठमाडौं: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई भेटेर उक्त सामग्री हस्तान्तरण गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराइएको नाडाले जनाएको छ। सो अवसरमा नाडाका समसामयिक विषयमा समेत छलफल भएको थियो। नाडाले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन अवस्थामा सरकारी निकाय र संघसंस्थालाई आवश्यकताअनुसार सहयोग गर्दै आएको छ। यस्ता कार्यले राज्यका निकायसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास छ।
सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यहरू दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति थियो। नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
