काठमाडौं: तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीश्वाराका किसान यतिबेला सयपत्री फूल छिटो फुल्दा बजारको चिन्तामा छन्। तिहारलाई लक्षित गरी गरिएको फूलखेती दसैँलगत्तै फक्रिएपछि किसानहरूले बिक्रीको अनिश्चितता महसुस गरेका हुन्।
चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहमा आबद्ध २३ जना किसानले गत वर्षको तुलनामा यस वर्ष फूलखेतीको क्षेत्रफल तीन गुणा बढाएर १६ रोपनी पुर्याएका छन्। गत वर्ष छ रोपनीमा गरिएको खेतीबाट समूहले रु चार लाख ५० हजार आम्दानी गरेको थियो। यस वर्ष रु १५ लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य राखे पनि तिहार ढिलो परेका कारण फूलको गुणस्तर र बजार मूल्यलाई लिएर किसान चिन्तित छन्।
समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष माग धेरै भएकाले खेती विस्तार गरिएको हो, तर यस वर्ष फूल छिटो फुल्दा र मौसमको प्रतिकूलताको सम्भावनाले किसानलाई थप पिरोलेको छ। किसानहरूले बिचौलियाका कारण उचित मूल्य पाउन कठिनाइ भइरहेको गुनासो गरेका छन्। गत वर्ष प्रतिकिलो रु तीन सयमा बिक्री गरिएको फूल व्यापारीले उपभोक्तालाई महँगोमा बेच्ने गरेको किसानको अनुभव छ।
त्यसैले उनीहरूले स्थानीय तहसँग हाटबजार वा व्यवस्थित बिक्री केन्द्रको माग गरेका छन्। परम्परागत मकै र मासको खेती छाडेर फूलखेतीतर्फ आकर्षित भएका किसानहरूले बिचौलियाको अन्त्य भएमा मात्र आफूहरूले मिहिनेतको उचित प्रतिफल पाउने बताएका छन्। स्वदेशी फूलको प्रवर्द्धनका लागि उत्पादक र उपभोक्तालाई जोड्ने प्रणालीको आवश्यकता रहेको उनीहरूको भनाइ छ।
