काठमाडौं: सरकारले लामो समयदेखि अलपत्र परेका र रुग्ण अवस्थामा रहेका ६ वटा निर्माण ठेक्का तोड्ने निर्णय गरेको छ। स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत रहेका ती आयोजनाहरूको काम अघि बढ्ने सम्भावना नदेखिएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
बुधबार मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभाग अन्तर्गत हाल १९ वटा ठेक्का रुग्ण अवस्थामा रहेको जानकारी दिए। तीमध्ये प्रगतिको कुनै सम्भावना नदेखिएका ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनले बताए।
मन्त्री लम्सालका अनुसार मन्त्रालयको निरन्तर निगरानी र सहजीकरणका कारण रुग्ण अवस्थामा रहेका अन्य ६ वटा आयोजना भने हालै सम्पन्न भएका छन्। साथै, लामो समयदेखि रोकिएका थप ५ वटा आयोजनाको निर्माण कार्य पुनः सुरु भएको मन्त्रालयले जनाएको छ।
विकास निर्माणका कामलाई थप प्रभावकारी र गतिशिल बनाउन मन्त्रालयले स्थानीय पूर्वाधार निर्माण सम्बन्धी कार्ययोजना संशोधन गर्ने तयारी गरेको छ। मन्त्री लम्सालले आयोजना कार्यान्वयनमा तीव्रता दिन सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक निर्देशन दिइसकेको बताएका छन्।
