काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आगामी चाडपर्वका समयमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विद्युत् सेवा नियमित र अवरोधमुक्त बनाउन आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।
बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चाडपर्वमा बढ्न सक्ने विद्युत् खपतलाई मध्यनजर गर्दै माग र आपूर्तिको उचित विश्लेषण गर्न आग्रह गरे। कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने गरी तयारी गर्न उनले स्पष्ट पारेका छन्।
यसैगरी, मन्त्री श्रेष्ठले सुख्खा याममा विद्युत् आपूर्तिलाई भरपर्दो बनाउने विषयमा समेत चासो व्यक्त गरेका छन्। उनले आन्तरिक उत्पादन र विद्युत् आयातको सम्भावनाको विश्लेषण गरी आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। सुख्खा याममा माग र उपलब्ध विद्युत्को अवस्थाबारे यथार्थ मूल्याङ्कन गरी आगामी बैठकमा विस्तृत कार्ययोजना पेस गर्न पनि उनले प्राधिकरणलाई निर्देशन दिएका छन्।
