काठमाडौं। चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ ।
पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
अनुमति लिनेमा १ हजार १३७ पुरुष र ३५६ महिला रहेका छन् । यस अवधिमा हिमाल आरोहण अनुमति शुल्क तथा रोयल्टीबापत नेपाल सरकारले २१ लाख २८ हजार १०९ अमेरिकी डलर अर्थात् करिब ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपैयाँ राजस्व संकलन गरेको छ ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार यस सिजनमा सबैभन्दा बढी आकर्षण ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा देखिएको छ । मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ३७३ पुरुष र १२७ महिला छन् ।
त्यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले अनुमति लिएका छन् । उनीहरूमध्ये ३११ पुरुष र १०१ महिला रहेका छन् । यस्तै, हिम्लुङ हिमालका लागि १३०, बरुण त्सेका लागि ६५ र थापा पिकका लागि ५५ जना आरोहीले अनुमति लिएका छन् ।
देशगत रूपमा सबैभन्दा बढी चीनका १४२ आरोहीले अनुमति लिएका छन् । फ्रान्सका १३६, अमेरिकाका १२१, रुसका ११३, बेलायतका १०२, जर्मनीका ९७, इटालीका ६३, स्पेनका ५५, भारतका ४० र नर्वेका ३२ जना आरोहीले अनुमति लिएका छन् ।
यस सिजनमा नेपाली आरोहीको सहभागिता पनि उल्लेख्य रहेको छ । नेपालका ३७ पुरुष र तीन महिलासहित ४० जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार संकलित कुल रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालबाट प्राप्त भएको छ । मनास्लु आरोहणबाट १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् करिब २२ करोड ५८ लाख रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी, आमादब्लम हिमालबाट चार लाख चार हजार अमेरिकी डलर अर्थात् करिब ६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
नेपालका हिमालप्रति अन्तर्राष्ट्रिय पर्वतारोहीको बढ्दो आकर्षणले पर्यटन क्षेत्रसँगै सरकारी राजस्वमा समेत सकारात्मक योगदान पुर्याएको देखिन्छ ।
